धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नं. २ मा संविधानसभा सदस्य धनबहादुर घलेका लागि टुंगो भइसकेको टिकट अन्तिम समयमा खोसिएको भन्दै पार्टीभित्र तीव्र विवाद चर्किएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घलेलाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि उनी जिल्लामा कार्यकर्ता भेटघाटमा रहेका बेला बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले नेता चन्द्रप्रसाद रिजाललाई टिकट हस्तान्तरण गरेको आरोप लागेको छ।
यस निर्णयप्रति आक्रोशित घले समर्थक कार्यकर्ताहरूले सोमबार साँझ धादिङस्थित एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। कार्यकर्ताहरूले पार्टीको निर्णय प्रक्रिया अपारदर्शी र स्थानीय संगठनको भावना विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
टिकट खोसिएको विषयमा प्रतिक्रिया दिँदै घलेले आफ्नो टिकट ‘गुण्डागर्दी शैलीमा अपहरण’ गरिएको आरोप लगाए।
“पार्टीको विधिअनुसार उम्मेदवारको टिकट जिल्ला नेतृत्वमार्फत पठाउनुपर्नेमा सिधै अर्का व्यक्तिलाई थम्याइनु विधि र अभ्यासविपरीत हो,” घलेले भने, “इमानको राजनीतिमा पार्टीबाट पटक–पटक बज्रपात भयो।”
घलेले २०७९ को निर्वाचनको घटना पनि स्मरण गरे, जहाँ क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका बेला उनको अनुपस्थितिमा तत्कालीन जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले उम्मेदवारी फिर्ता गराएका थिए। त्यसबेला राप्रपासँग चुनावी तालमेलका कारण उनको उम्मेदवारी फिर्ता भएको थियो।
यता, चन्द्रप्रसाद रिजालले भने आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म सिफारिस भएको र पार्टीले विधिसम्मत रूपमा टिकट दिएको बताएका छन्। उनले मनोनयन दर्ताका लागि मंगलबार बिहान धादिङ आउने जानकारी दिएका छन्।
घटनापछि गंगाजमुना, खनियाबास, रुबीभ्याली र त्रिपुरासुन्दरीका एमाले कार्यकर्ताहरूले पार्टी कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले घलेको नाममै उम्मेदवारी कायम गर्न माग गर्दै पछिल्लो निर्णय सच्याउन चेतावनी दिएका छन्।
यस विषयमा एमाले जिल्ला कमिटी तथा केन्द्रीय नेतृत्वको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



