• केशव अधिकारी

धादिङ- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ जिल्लामा कुल ४७ जनाको उम्मेदवारी कायम भएको छ। जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार रहेका छन्। जिल्लामा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस, नेकपा एमाले,  नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने अनुमान छ।

क्षेत्र नम्बर १ मा सुरुमा २४ जनाको उम्मेदवारी परेको थियो, तर स्वतन्त्र उम्मेदवार इश्वर भारतीले आफ्नो मनोनयन फिर्ता लिएका छन्। क्षेत्र नम्बर २ मा सबै २४ जनाको उम्मेदवारी कायम छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुनै उम्मेदवारमाथि दाबी, विरोध वा फिर्ता नभएपछि उम्मेदवारी दिएका सबै उम्मेदवारको मनोनयन अनुमोदित भएको छ।

क्षेत्र नम्बर १ का प्रमुख उम्मेदवारमध्ये नेकपा एमालेबाट भूमि प्रसाद त्रिपाठी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजेन्द्र प्रसाद पाण्डे, नेपाली काँग्रेसबाट कृष्ण रिजाल, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशिका तामाङ रहेका छन्। यस क्षेत्रका अन्य दलका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गीता प्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाइजेशन पार्टीबाट सुमन तामाङ, उज्यालो नेपाल पार्टीबाट श्याम राज पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीबाट डम्बर बहादुर लिम्बु, आम जनता पार्टीबाट जाल्पादेवी रेग्मी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कुमार वहादुर तामाङ रहेका छन्।

त्यसैगरी क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुन प्रसाद अर्याल, कृष्णप्रसाद अधिकारी, केशव प्रसाद रुपाखेती, तपन उप्रेती, दीपक तामाङ, धर्मराज नेपाल, ध्रुव प्रसाद पाण्डे, निरन्जन संजेल, राजेश भट्टराई र हरी भण्डारीले चुनाव चिन्ह पाएका छन्।

धादिङ क्षेत्र नम्बर १ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएका थिए। तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले कुल ३५,९३४ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई हराएका थिए। त्रिपाठीले २७,९५३ मत पाएका थिए। यसरी पाण्डेले ७,९८१ मतान्तरले विजय हासिल गरेका थिए।

त्यस निर्वाचनमा क्षेत्रका अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२,४७५ मत र मंगोल नेशनल अर्गनाइजेशनका सुमन तामाङले ८८२ मत प्राप्त गरेका थिए।

धादिङ क्षेत्र नम्बर १ अन्तर्गत धुनिबेशसी नगरपालिका, थांक्रे, गल्छी, गजुरी, वेनिघाट–रोराङ र सिद्धलेक गाउँपालिका पर्दछ।

यस पटकको निर्वाचनमा पाण्डे पुनः नेकपा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन्। २०७९ को निर्वाचनमा पाण्डेलाई नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी केन्द्रको समर्थन थियो। अहिले माओवादी केन्द्र र नेकपा एस मिलेर नेकपा बनेको छ। नेपाली काँग्रेसले यस क्षेत्रमा कृष्ण रिजाललाई उम्मेदवार बनाएको छ भने, एमालेबाट पुनः भूमिप्रसाद त्रिपाठी मैदानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा आशिका तामाङलाई उम्मेदवार बनाउँदा मुख्य दलहरूको मत केही हदसम्म बाँडिने सम्भावना देखिएको छ।

धादिङ–१ मा पुराना नेताहरूको अनुभव र नयाँ उम्मेदवारहरूको चुनौतीबीचको भिडन्त यस निर्वाचनको केन्द्रबिन्दु बन्ने देखिएको छ।

क्षेत्र नम्बर २ का प्रमुख उम्मेदवारहरूमा नेकपा एमालेबाट धन बहादुर घले, नेपाली काँग्रेसबाट रमेशप्रसाद धमला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट राम बहादुर भण्डारी, रास्वपा बाट बोधनारायण श्रेष्ठ, राप्रपा बाट सुरेश रिजाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विरमान तामाङ रहेका छन्।

अन्य दलका उम्मेदवारमा उज्यालो नेपाल पार्टीबाट अमिर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कृष्णबहादुर घतानी, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङ, संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरे, नेशनल रिपब्लिक नेपालबाट नक्कले मगर, आम जनता पार्टीबाट नन्दप्रसाद काप्री, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट प्रिया भट्ट, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष कुमार तामाङ र मितेरी पार्टीबाट सुसन तामाङ रहेका छन्।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रूपमा शिवराज सापकोटा, शिवनिधि खनाल, रुद्रबहादुर गेलाङ मगर, भरत ढुंगाना, दीपक अधिकारी, दामोदर रिजाल, कृष्णप्रसाद कोइराला र उज्ज्वल श्रेष्ठले चुनाव चिन्ह पाएका छन्।अधिकांश स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारको ‘डमी’ हुने आशंका छ।

धादिङ क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नम्बर २ अन्तर्गत रुवीभ्याली, खनियावास,गंगाजमुना, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकाका साथै नीलकण्ठ नगरपालिका रहेको छ ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका थिए। अधिकारीले ३४,४८३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार लोहनी लाई हराएका थिए। लोहनीले २३,९५० मत पाएका थिए। यसरी अधिकारीले १०,५३३ मतान्तरले विजय हासिल गरेका थिए।

तर यो पटक अधिकारी चुनावी मैदानमा छैनन्। काँग्रेसले यस क्षेत्रमा रमेश धमलालाई उम्मेदवार बनाएको छ। धमला पार्टीका पूर्व जिल्ला सभापति हुन् र विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

एमालेले यस क्षेत्रबाट जनजाती नेताधनबहादुर घलेलाई उम्मेदवार बनाएको छ। धादिङ–२ क्षेत्र जनजातीय बहुल भएकोले घलेले जातीय मतको बलमा प्रतिस्पर्धी लाभ पाउने अनुमान गरिएको छ।

पहिलेको गठबन्धनको मुख्य दल नेकपा माओवादी केन्द्र (हालको नेकपा) ले यस पटक यस क्षेत्रबाट पुराना शालिन नेता रामबहादुर भण्डारी लाई उम्मेदवार बनाएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बोधनारायण श्रेष्ठ मैदानमा छन्। श्रेष्ठ लामो समय कम्युनिष्ट पार्टीको कार्यकर्ता रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा काम गरिसकेका छन्। उनको उपस्थितिले पुराना दलहरूले पाउने मतमा केही विभाजन हुने सम्भावना देखिएको छ।

अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बसुमाया तामाङले ५,५२५ मत पाएकी थिइन्।

यसरी धादिङ–२ क्षेत्रमा पुराना दलका अनुभवी नेताहरू र नयाँ उम्मेदवारबीच मतको विभाजन र रणनीतिक भिडन्त केन्द्रबिन्दु बन्ने देखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धादिङमा कुल मतदाता संख्या २,७५,२८० रहेको छ। क्षेत्र नम्बर १ मा १,३६,३८६ र क्षेत्र नम्बर २ मा १,३८,५९४ मतदाता छन्।

निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले गाउँ–गाउँमा प्रचार–प्रसारमा तीव्रता दिएका छन्। प्रमुख दलहरूबीच पुराना नेताहरूले आफ्नो साख जोगाउने प्रयास गरिरहेका छन् भने नयाँ उम्मेदवारले स्थापित हुन चुनौतीको सामना गर्दैछन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version