काठमाडौँ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै आज देशभर श्रद्धा र भक्तिपूर्वक श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिन्छ ।

बसन्त पञ्चमीका दिन विणा, पुस्तक र हंसवाहिनीका रूपमा पूजित विद्याकी देवी सरस्वतीको आराधना गर्ने परम्परा रहिआएको छ । सूर्य उत्तरायणमा प्रवेश गरी दिन लामा हुने तथा वसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी भनिएको हो । यस पर्वलाई ज्ञान, विद्या, कला र सृजनाको आरम्भको प्रतीकका रूपमा लिने गरिन्छ ।

श्रीपञ्चमीको अवसरमा बालबालिकालाई अक्षराम्भ गराउने चलन छ । आजकै दिन पहिलो पटक अक्षर चिनाउने, लेखन प्रारम्भ गराउने तथा नाक–कान छेड्ने कार्यलाई शुभ मानिन्छ । त्यसैगरी साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकलगायतले आफ्ना अध्ययन, कला र साधनासँग सम्बन्धित सामग्रीको पूजा–अर्चना गर्ने गर्छन् ।

आजको दिन शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिइन्छ । यही कारण विवाह, व्रतबन्ध, गुफा राख्ने, गृहप्रवेश जस्ता कार्यहरू पनि श्रीपञ्चमीकै दिन गरिने परम्परा छ ।

ऋग्वेदमा सरस्वतीलाई ब्रह्माणी तथा वाग्देवीका नामले वर्णन गरिएको छ । काठमाडौँ उपत्यकाका स्वयम्भूस्थित मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ ।

धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या, बुद्धि वृद्धि हुने र चेतनाको ज्योति प्राप्त हुने मान्यता छ । यसैगरी पञ्चमीका दिन काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी ‘वसन्त श्रवण’ गर्ने प्रचलन पनि रहिआएको छ ।

शिक्षा, ज्ञान र सृजनाको आराधनासँग जोडिएको श्रीपञ्चमी पर्वले समाजमा विद्या र चेतनाको महत्त्व स्मरण गराउँदै आएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version