धादिङ,१५ माघ -जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई गति दिने उद्देश्यका साथ ‘दशौँ धादिङ महोत्सव–२०८२’ आजदेखि धादिङबेसीस्थित खुल्ला मञ्चमा सुरु हुँदैछ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा तथा नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुहुने कार्यक्रम तय भएको छ।
महोत्सव उद्घाटनअघिको अवसरमा धादिङबेसी बजार क्षेत्रमा विभिन्न जातजाति, भाषाभाषी समुदाय तथा संघ–संस्थाको सहभागितामा मौलिक झाँकीसहितको र्याली प्रदर्शन गरिने भएको छ। यसले जिल्लाको कला, संस्कृति र पहिचान झल्काउने आयोजकले जनाएको छ।

महोत्सवमा कुल १६० वटा स्टल रहनेछन्। जसअन्तर्गत १०० वटा व्यावसायिक, २० वटा घरेलु तथा साना उद्योग, र ४० वटा कृषि तथा अन्य स्थानीय उत्पादनका स्टल समावेश गरिएका छन्। यस वर्ष धादिङको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिरको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।