माघ २४, धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा “उपाध्यक्षसँग समन्यायिक विकास (कानुनी सचेतना) कार्यक्रम” अन्तर्गत  अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरू, दलित महिला सदस्यहरू र एकल महिलाहरूलाई लक्षित गरी आधारभूत कानुनी ज्ञान प्रदान गरिएको हो।

स्थानीयस्तरमा देखिने विभिन्न कानुनी समस्याहरूको समाधानमा न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई समितिसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। विशेषगरी समाजका पछाडि पारिएका वर्ग र स्थानीय जनप्रतिनिधिहरूलाई कानुनी प्रक्रियाका बारेमा जानकारी दिँदै न्यायिक समितिको सेवा र पहुँचका बारेमा प्रष्ट पारिएको थियो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माया देवी शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा बोल्दै उहाँले भन्नुभयो, “कानुनको ज्ञान केबल वकिल वा कर्मचारीलाई मात्र होइन, समाजका प्रत्येक नागरिक र अझ विशेष गरी जनप्रतिनिधिहरूका लागि अनिवार्य छ। कानुन बुझे मात्रै समाजमा न्यायको स्थापना हुन सक्छ।”

गाउँपालिका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अधिवक्ता तोलाकुमारी पाठकले आधारभूत कानुनी सचेतनाका बारेमा प्रशिक्षण दिनुभएको थियो। उहाँले स्थानीय तहमा मेलमिलाप र कानुनी उपचारका बाटाहरूका बारेमा सहभागीहरूलाई प्रष्ट पार्नुभयो।

कार्यक्रमको औचित्य र न्यायिक समितिको कार्यसम्पादनका बारेमा न्यायिक समिति सदस्य सानु गिरी र न्यायिक सहजकर्ता रामचन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो। सहभागीहरूले स्थानीय स्तरमा न्यायिक कार्य सम्पादन गर्दा आइपर्ने व्यावहारिक कठिनाइहरूका बारेमा जिज्ञासा राखेका थिए।

स्थानीय सरकारले आफ्ना नागरिक र जनप्रतिनिधिलाई कानुनी रूपमा साक्षर बनाउन चालेको यो कदमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्। यस कार्यक्रमले आगामी दिनमा गाउँपालिकाभित्रका विवादहरूलाई न्यायिक समिति मार्फत छिटो र छरितो रूपमा समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


Share.

Comments are closed.

Exit mobile version