धादिङ, २५ माघ ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६, १० किलो भन्ने स्थानमा आइतबार बिहान भीषण बस दुर्घटना भएको छ। दाङबाट काठमाडौँतर्फ जाँदै गरेको नाइट बस र काठमाडौँबाट त्रिशुलीतर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार दाङबाट आएको द्रुत गतिको नाइट बसले विपरीत दिशाबाट गइरहेको बसलाई ठक्कर दिएको थियो। ठक्कर लगत्तै अनियन्त्रित भएको बस सडक किनारमा रहेको स्थानीयको घरभित्र छिरेको छ। घरभित्र बस छिर्दा घरमा ठूलो क्षति पुग्नुका साथै त्यहाँ एकजनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा दुवै बसका गरी दर्जनौँ यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको स्थानीयबासी र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मलेखु, गजुरी र थप उपचारका लागि काठमाडौँ पठाएका छन्। कतिपय घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनापछि पृथ्वी राजमार्गको थाक्रे खण्डमा केही समय सवारी आवागमन प्रभावित भएको थियो। अहिले प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाउने र सडक सुचारु गर्ने प्रयास गरिरहेको छ।

घटनाको थप विवरण र घाइतेहरूको आधिकारिक रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version