काठमाडौँ, ३ फागुन ।निर्वाचन आयोगले आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको समयसीमा र आचारसंहिता सम्बन्धी कडा निर्देशन जारी गरेको छ। सोमबारदेखि सुरु हुने औपचारिक प्रचारप्रसारका कार्यक्रमअघि आज आयोजित पत्रकार सम्मेलनमा आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ४ गतेदेखि १८ गतेसम्म मात्रै चुनावी गतिविधि गर्न अनुमति दिएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सिलसिलामा जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण, र घरदैलो कार्यक्रमहरू तोकिएको समयभित्र मात्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आयोगले कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने गरी बाधा अवरोध पुर्‍याउने कार्य नगर्न समेत सचेत गराएको छ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले विभिन्न निषेधित कार्यहरूको सूची समेत सार्वजनिक गरेको छ। जसअनुसार निर्वाचनको अवधिमा कसैलाई थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्ने, धाकधम्की दिने, सामाजिक बहिष्कार गर्ने वा कसैको प्रतिष्ठामा आघात पुर्‍याउने काम गर्न पाइने छैन। त्यस्तै, मतदातालाई प्रभावमा पार्न उपहार, पुरस्कार, नगद, जिन्सी, वा सार्वजनिक भोजको आयोजना गर्ने र प्रलोभन देखाउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ।

आयोगले प्रचारप्रसारका क्रममा नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, र बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। विभिन्न जातजाति, धर्म वा क्षेत्रबीच घृणा फैलाउने वा हिंसा भड्काउने कार्य गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ। यसका साथै सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी प्रचारप्रसार गर्न र गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिन समेत रोक लगाइएको छ।

 

Share.

Comments are closed.

Exit mobile version