धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौंदी नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस पृथ्वी लोकमार्गको ‘चाइनाधारा’ भन्ने स्थानबाट अनियन्त्रित भई करिब सवा १ बजेतिर त्रिशूली नदीमा खसेको हो।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा मृत्यु हुने १७ जनामध्ये १३ पुरुष र ४ महिला रहेका छन्। बसमा ३५ जनाभन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका २३ जनालाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिनुभएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको टोली उद्धारमा खटिएका छन्। दुर्घटना मध्यरातमा भएको र भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्ने क्रम जारी छ।
