रामेछाप, १८ फागुन-आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदान सामग्री र कर्मचारी लिएर गइरहेको गाडी रामेछापमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा परी रामेछाप–२ स्थित साँघुटार (ख) मतदान केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको छ। घिमिरे रामेछाप नगरपालिका–३ स्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा निमावि द्वितीय तहका शिक्षक हुनुहुन्थ्यो। यसअघि सोही दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता डीएसपी राजन तिमिल्सनाका अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। गाडीमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीका साथै निर्वाचनका लागि आवश्यक मतपेटिका र महत्त्वपूर्ण कागजातहरू रहेका थिए।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार निर्वाचन सामग्री ढुवानीका क्रममा भएको यस क्षतिले स्थानीय स्तरमा शोक छाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Share.

Comments are closed.

Exit mobile version