काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव र अन्तर्राष्ट्रिय आपूर्तिमा आएको अवरोधका कारण नेपाल आयल निगमले उपभोक्तालाई आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ । निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बजारमा ग्यासको लुकाछिपी र अनावश्यक भण्डारण बढ्न थालेपछि यस्तो कदम चालेको हो ।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर थुपार्न थालेकाले सबैको भान्छासम्म इन्धन पुर्याउन आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास बजारमा पठाउन लागिएको हो । पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या देखिन थालेपछि सर्वसाधारणमा त्रास बढेको र त्यसैको प्रभावले बजारमा अभाव चर्किएको निगमको विश्लेषण छ ।

नेपालमा दैनिक औसत १२० बुलेट ग्यासको माग रहे पनि हाल भारतबाट दैनिक करिब ८० वटा मात्रै बुलेट आइरहेका छन् । भारतीय आयल निगमले माग अनुसारको आपूर्ति दिन छाडेपछि नेपालमा ग्यासको संकट गहिरिएको हो । मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर भारतमा समेत देखिएको र त्यहाँका रेस्टुरेन्टहरूले समेत सेवा कटौती गर्न थालेको अवस्थामा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका समयमा पनि सरकारले यस्तै प्रकारको आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था मिलाएको थियो । अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले थप अभाव हुन नदिन र आपूर्ति प्रणालीलाई सन्तुलित बनाउन यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version