काठमाडौँ, ३० फाल्गुन नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारका लागि काठमाडौँका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द गर्ने भएको छ। बानेश्वर वितरण केन्द्र अन्तर्गतका केही क्षेत्रमा विद्युतीय पूर्वाधार सुधार गर्नुपर्ने भएकाले केही घण्टाका लागि बिजुली काट्न लागिएको प्राधिकरणले जनाएको छ।

विशेष गरी गोठाटार र बत्तीसपुतली फिडरबाट विद्युत् प्रवाह हुने क्षेत्रहरू यसबाट प्रभावित हुनेछन्। प्राधिकरणका अनुसार पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा रहेका ११ केभी प्रसारण लाइनको मर्मतका साथै पुराना पोलहरू फेर्ने काम भइरहेको छ। यसका लागि बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म ती क्षेत्रमा विद्युत् उपलब्ध हुने छैन।

त्यसैगरी, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा पनि लाइन सुधारको काम गर्नुपर्ने भएकाले अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख छ। निर्धारित समयभन्दा अगावै प्राविधिक कार्य सम्पन्न भएमा बिजुलीको आपूर्ति तुरुन्तै सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ। नियमित मर्मतका क्रममा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ।


Share.

Comments are closed.

Exit mobile version