काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले मात्र बढेको थियो। चालु वर्षको माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको माघ महिनामा आएको १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो वृद्धि दर ५.५ प्रतिशत मात्र रहेको थियो।

त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।

यसैबीच, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो।

Share.

Comments are closed.

Exit mobile version