काठमाडौँ, ६ चैत २०८२- काठमाडौँमा ट्राभल एजेन्सी स्थापना गरी विभिन्न देश भ्रमणको ‘लोटरी’ परेको प्रलोभन देखाएर करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यस घटनामा संलग्न एक नेपाली र ६ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय विवेक रेग्मीसहित भारतको तेलंगाना राज्य, हैदरावादका हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समादा गिरी रहेका छन्। उनीहरूले नेपाली नागरिक रेग्मीको नाममा काठमाडौँको थापागाउँमा ‘श्रीर्टेल होलिडेज’ नामक कम्पनी दर्ता गरी भारतीय नागरिकहरूले पर्दा पछाडिबाट ठगीको सञ्जाल चलाएको अनुसन्धानबाट खुलेको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मनोहरकुमार भट्टका अनुसार २०८२ कात्तिकमा स्थापना भएको यस कम्पनीले छोटो अवधिमै ३२८ जना पीडितबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरिसकेको पाइएको छ। गिरोहले भाटभटेनी, लबिम मल र सिभिल मल जस्ता व्यस्त स्थानमा स्टल राखेर सर्वसाधारणलाई फाराम भराउने र पछि ‘लोटरी पर्यो’ भन्दै कार्यालयमा बोलाएर रकम असुल्ने गरेको पाइएको छ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले दिएको जानकारी अनुसार, उनीहरूले युरोप, एसिया र अफ्रिकाका विभिन्न देश भ्रमणको आकर्षक प्याकेज देखाएर रकम लिने तर भ्रमणमा नपठाउने गरेको उजुरी परेपछि प्रहरीले कारबाही अघि बढाएको हो। कम्पनीमा ३० जना नेपाली कामदारलाई रोजगारीमा राखेर विश्वास दिलाउने काम गरिएको थियो। पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

Share.

Comments are closed.

Exit mobile version