काठमाडौँ – काठमाडौँ र धादिङलाई जोड्ने मुलुककै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अन्यौल अन्ततः हटेको छ। प्राविधिक र आर्थिक मूल्याङ्कनमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै चिनियाँ सरकारी कम्पनी चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपाली साझेदार एआरटी कन्स्ट्रक्सन (युसिन–एआरटी जेभी) ले यसको जिम्मेवारी पाउने पक्का भएको हो। सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा सहभागी १० कम्पनीमध्ये सबैभन्दा कम १ अर्ब १० करोड रुपैयाँ प्रस्ताव गरेपछि यस युटिन–एआरटी जेभीले आगामी ५ वर्षका लागि व्यवस्थापनको ठेक्का हात पारेको छ। आयोजनाले आगामी एक साताभित्रै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
सम्झौता अनुसार सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीले साधारण मर्मतसम्भार मात्र नभई उच्च स्तरको २४ सै घण्टा व्यवस्थापन गर्नुपर्नेछ। जसमा सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट शुल्क उठाउने, भित्रको सवारी चाप र गति नियन्त्रण गर्ने, आगलागी वा दुर्घटना हुँदा तत्काल उद्धारका लागि ‘रेस्क्यु टोली’ तयारी अवस्थामा राख्ने जस्ता महत्वपूर्ण कामहरू समावेश छन्। सुरुङभित्रको प्रकाश, भेन्टिलेसन र सिभिल संरचनाको रेखदेखका लागि कुल १५० जना दक्ष जनशक्ति परिचालन गरिनेछ। यसमा सुरक्षा व्यवस्थापनका लागि ६४ जना र टोल शुल्क उठाउन ५४ जना कर्मचारी खटाइने आयोजनाले जनाएको छ।
हाल निर्माण कार्य ९८ प्रतिशत सकिइसके पनि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ। ठेक्का सम्झौता भएपछि कम्पनीले जनशक्ति छनोट, तालिम र केही समयको परीक्षणकाल पूरा गरेपछि मात्र सवारी साधनका लागि बाटो खुल्नेछ। आयोजना स्रोतका अनुसार आगामी जेठको अन्तिम सातासम्म सुरुङमार्ग औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ। अहिले धादिङतर्फको टोल प्लाजा निर्माण र पहिरो नियन्त्रणको बाँकी काम धमाधम भइरहेको छ। सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने संकलित टोल शुल्क सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ।



