काठमाण्डौं, १६ चैत । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले बालश्रम शोषण र दुर्व्यवहारको अभियोगमा पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे शर्मालाई काठमाडौँको धुम्बाराहीस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो। उहाँलाई बालबालिकाविरुद्धको कसुर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सांसद शर्मामाथि विगत ६ वर्षदेखि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ। न्यून आर्थिक अवस्था भएकी ती बालिकालाई ‘पढाइदिने’ प्रलोभनमा काठमाडौँ ल्याएर विद्यालय नपठाई घरेलु काममा मात्र लगाएको भन्दै काठमाडौँ महानगरपालिकाले नै प्रहरीमा जाहेरी दर्ता गराएको थियो। महानगरपालिकाको टोलीले २०८१ साल जेठ १४ गते ती बालिकालाई शर्माको घरबाट उद्धार गरी हाल एक सामाजिक संस्थाको संरक्षणमा राखेको छ।

यो मुद्दा यसअघि निकै चर्चामा रहेको थियो, विशेष गरी तत्कालीन काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले अनुसन्धानमा भइरहेको ढिलाइप्रति कडा आपत्ति जनाएपछि। जाहेरी दर्ता भएलगत्तै शर्माले धरपकड नगर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो। सुरुमा अदालतले अन्तरिम आदेश दिए पनि २०८१ साल साउन २३ गते शर्माको दाबी नपुग्ने फैसला गरेपछि प्रहरी अनुसन्धान अघि बढाउन कानुनी बाटो खुलेको थियो। त्यसपछि पनि प्रहरीले पक्राउ गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको थियो। यसबीचमा, बालिकाका बुबाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो, जसमा सर्वोच्चले बालिकाको इच्छा र हितलाई ध्यानमा राखी उहाँलाई संस्थामै राख्न परमादेश जारी गरेको थियो।

महानगरपालिकाले गरेको एक अध्ययनका क्रममा अरूको घरमा बसी सामुदायिक विद्यालयमा पढ्ने २५५ जना बालबालिकामध्ये २९ जनाले आफूमाथि गम्भीर प्रकृतिको हिंसा र श्रमशोषण भइरहेको खुलासा गरेका थिए। शर्माको परिवारले भने उहाँलाई पुर्जीविना नै पक्राउ गरिएको र नियमित सेवन गर्नुपर्ने औषधिसमेत बोक्न नदिएको आरोप लगाएको छ। यद्यपि, प्रहरीले कानुनी प्रक्रिया पूरा गरेरै नियन्त्रणमा लिएको दाबी गरेको छ। यो घटनाले बहालवाला सांसद नै गम्भीर बालअधिकार उल्लंघनको मुद्दामा तानिएपछि राजनीतिक र सामाजिक क्षेत्रमा नयाँ तरङ्ग पैदा गरेको छ।

Share.

Comments are closed.

Exit mobile version