काठमाडौँ, १८ चैत । काठमाडौँका विभिन्न यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अवैध रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले कडा कारबाही सुरु गरेको छ। स्वयम्भूस्थित सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवा प्रवाहमा अवरोध पुर्याउने, लाइन मिच्ने र छिटो काम गरिदिने प्रलोभन देखाई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक बरामद गरिएको छ।
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई, काठमाडौँका संजय राजवाहक, विमल तामाङ र रमेश कार्की रहेका छन्। त्यस्तै, कैलालीका सुमनप्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साललाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट थप ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पासाङ तामाङ, सुनिल लामा, सुदिप मगर, बुद्ध तामाङ, सुमेश नेपाली, अमन तामाङ, उज्वल सिंह र दिलिप राई रहेका छन्।
यातायात कार्यालयहरूमा वर्षौँदेखि मौलाउँदै आएको बिचौलिया संस्कृतिका कारण सर्वसाधारण मारमा पर्दै आएका छन्। सामान्य कामका लागि पनि घण्टौँ लाइन बस्नुपर्ने र कर्मचारीसम्म पुग्न बिचौलियाको सहारा लिनुपर्ने बाध्यताले सरकारी सेवा प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



