काठमाडौँ, १८ चैत ।लोकप्रिय एवं चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ ले समसामयिक विषयवस्तुलाई रोचक ढंगले प्रस्तुत गर्दै पुनः दर्शकको मन जित्न सफल भएको छ। लामो समयदेखि स्थापित चर्चित कलाकारहरूको अभिनय रहेको यस श्रृंखलाले देशको वर्तमान परिस्थितिलाई हास्यव्यङ्ग्यका माध्यमबाट उठान गरिरहेको छ।
निर्देशक एवं कलाकार दमन रुपाखेतीका अनुसार देशको वस्तुस्थिति र आम नेपालीका भोगाइलाई मध्यनजर गर्दै कथावस्तु तयार पारिएका कारण लाखौँ दर्शकले यसलाई रुचाएका छन्। दुई दशकअघि रुपाखेतीकै निर्देशनमा सुरु भएको यो श्रृंखलाले विनासकारी भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता कठिन समयमा पनि निरन्तरता पाउँदै आएको लेखक तथा कलाकार दीवाकर भण्डारी (सापटी काका) ले जानकारी दिए।
नेपाली समाजको यथार्थलाई रोचक ढंगले प्रस्तुत गर्ने ‘मेरी बास्सै’ ले आफ्नो ब्राण्ड र लोकप्रियतालाई कायमै राखेको अर्का कलाकार एवं श्रृंखला निर्देशक लेखान्त भुषाल (घिरौंले) को दाबी छ। छायांकनका क्रममा आवश्यक विषय र परिवेशमा कुनै सम्झौता नगरिएको उनले बताए। मिडिया हबद्वारा उत्पादित यो श्रृंखला प्रत्येक मंगलबार साँझ ८:३० बजे मिडिया हबको आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ भने छिट्टै नेपाल टेलिभिजनबाट समेत प्रसारण गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
यस टेलिश्रृंखलामा रामचन्द्र अधिकारी (गोख्ते काजी), सुरवीर पण्डित (दाह्री बा), सुरेन्द्र केसी (मुलासाग), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दीवाकर भण्डारी (सापटी काका), लेखान्त भुषाल (घिरौंले), यादव थापा (व्याजप्रसाद), साया भण्डारी (राधिका), दीलिप ढकाल (जुल्फे) लगायत दुई दर्जनभन्दा बढी परिचित कलाकारको अभिनय रहेको छ। रविन भट्टले सम्पादन गर्दै आएको यस श्रृंखलाले धेरै चर्चित कलाकारहरू जन्माउनुका साथै आम दर्शकको रुचिलाई प्राथमिकता दिँदै आएको छ।



