काठमाडौं, १९ चैत – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य राति १२ बजेपछि लागू हुने गरी १५–१५ रुपैयाँले बढाएको जनाएको छ।
मूल्य वृद्धिपछि पेट्रोलको अधिकतम मूल्य करिब २०२ रुपैयाँ प्रति लिटर र डिजेल/मट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रति लिटर पुगेको छ।
निगमका अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिसँगै भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन आवश्यक भएको हो। साथै, मध्यपूर्वमा जारी द्वन्द्वले पनि अन्तर्राष्ट्रिय बजार प्रभावित भएको छ।
पेट्रोलियम पदार्थमा मूल्य समायोजनपछि पनि निगमलाई करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा रहेको छ। निगमले उपभोक्तालाई मितव्ययिता अपनाउन र असहज परिस्थितिमा सहयोग गर्न आग्रह गरेको छ।



