काठमाडौं-फेसबुक, म्यासेन्जर, टिन्डर र बम्बलजस्ता विश्वका सर्वाधिक लोकप्रिय ७४ वटा एपहरूले प्रयोगकर्ताको राजनीतिक एवं धार्मिक आस्थासम्बन्धी संवेदनशील डेटा संकलन गर्ने गरेको एक अध्ययनले पुष्टि गरेको छ। डेटा सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था इन्कग्निटोले गरेको अध्ययनअनुसार, यसरी संकलन गरिएका डेटामध्ये २१ प्रतिशत विवरण ती एपहरूले तेस्रो पक्ष (थर्ड पार्टी) लाई बिक्री गर्ने गरेका छन्।
अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा धेरै विवरण संकलन गर्नेमा डेटिङ एपहरू अग्रपंक्तिमा देखिएका छन्। त्यसपछि क्रमशः सपिङ, मेडिकल, बुक्स एन्ड रिफरेन्स, बिजनेस र फाइनान्स एपहरूले प्रयोगकर्ताको डेटा संकलन गर्ने गरेको पाइएको छ। एपहरूले संकलन गर्ने यी विवरणमा सामान्य लग-इन जानकारी मात्र नभएर व्यक्तिको भ्वाइस रेकर्डिङ, यौनिक झुकाव, राजनीतिक विचार र धार्मिक आस्थाजस्ता अति संवेदनशील विषयहरू समेत समावेश हुने गरेका छन्।
अमेरिकी चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भएको यस प्रतिवेदनले यस्ता विवरणको चुहावटले लोकतान्त्रिक निर्वाचन प्रणालीमै गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ। इन्कग्निटोले भनेको छ, “अहिलेको ध्रुवीकृत राजनीतिक माहोलमा व्यक्तिहरूले आफ्ना आस्था गोप्य राख्न चाहन्छन्, तर यस्ता डेटा सार्वजनिक हुनु वा राजनीतिक उद्देश्यका लागि प्रयोग हुनु सुरक्षाका दृष्टिले भयानक हुन सक्छ।”
यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी कम्पनी ‘इन्टरनेट रिसर्च एजेन्सी’ ले गरेको डेटा दुरुपयोग र सन् २०१८ को चर्चित क्याम्ब्रिज एनालिटिका–फेसबुक स्क्यान्डललाई स्मरण गर्दै प्रतिवेदनले सतर्क गराएको छ। क्याम्ब्रिज एनालिटिका प्रकरणमा करिब ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डेटा अनधिकृत रूपमा संकलन गरी राजनीतिक प्रभाव पार्न प्रयोग गरिएको थियो।
डेटा संकलन गर्दा सधैं ‘डेटा ब्रिच’ वा ह्याकरको पहुँच पुग्ने जोखिम रहने हुनाले एपहरू आफ्ना गोपनीयता नीतिमा पारदर्शी र जवाफदेही हुनुपर्ने अध्ययनको निष्कर्ष छ। व्यक्तिको गोपनीयता र राष्ट्रिय स्वार्थको रक्षाका लागि एपहरूले आफ्नो डेटा व्यवस्थापन प्रणालीमा तत्काल सुधार गर्नुपर्ने सुझाव समेत इन्कग्निटोले दिएको छ।



