काठमाण्डौ, ९ जेठ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा वर्षा, हिमपात र तातो लहरको सम्मिश्रण रहने देखिएको छ।
हाल कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। अहिले गण्डकी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। विशेषगरी गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भने तातो दिन तथा तराई भूभागमा तातो लहर (लु) चल्ने सम्भावना रहेकाले त्यहाँको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ। आज राति पनि कोशी र मधेश प्रदेशका केही स्थानका साथै बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा जारी रहनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभागमा रातिको समयमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



