काठमाडौँ, ११ जेठ- घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको एकपक्षीय खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा सहज जित निकालेको हो। प्रतियोगिताको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा प्रतिस्पर्धात्मक हार बेहोरेको नेपालले त्यसपछिका दुवै खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो।

चार टोली सम्मिलित समूह ‘ए’ मा नेपालले आफ्ना तीनै खेल खेलिसकेको छ, जहाँ नेपाल ७ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समूहमा भारत ५ अङ्कसहित दोस्रो र किर्गिस्तान ३ अङ्कसहित तेस्रो स्थानमा छन् भने अङ्कविहीन बनेको माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ।

यस समूहबाट नेपाल सेमिफाइनल पुगिसके पनि समूह विजेता र उपविजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले लगाउनेछ। सोमबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। भारतलाई सेमिफाइनल पुग्न ३-२ को सेटको नतिजा मात्रै पनि पर्याप्त हुनेछ भने किर्गिस्तानलाई अन्तिम चारमा पुग्न भारतमाथि सोझो सेटको जित आवश्यक पर्नेछ।

आइतबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई २५-१६, २५-१३ र २५-११ को सेटमा पराजित गरेको थियो।

Share.

Comments are closed.

Exit mobile version