धादिङ, १२ जेठ । अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष तथा धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीलाई समाचार प्रकाशनको विषयलाई लिएर ज्यान मार्ने धम्की दिइएको छ। विदेशी नम्बरबाट ह्वाट्सएप मार्फत धम्कीपूर्ण सन्देश पठाउँदै पत्रकार अधिकारीमाथि मानसिक त्रास सिर्जना गर्न खोजिएको घटनाप्रति अनलाइन मिडिया सोसाइटी धादिङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोसाइटीका सचिव अनिल नेपालीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, गत जेठ ६ गते धादिङ न्यूज डटकममा प्रकाशित “सिद्धलेकका अध्यक्षको ‘डन’ शैली: ठेक्कामा सेटिङ नमिले कर्मचारीको ‘गाला पड्काउने’ धम्की” शीर्षकको समाचारलाई लिएर पत्रकार अधिकारीलाई विदेशी नम्बर ९७१५२९७७१८५५ बाट धम्कीपूर्ण सन्देश पठाइएको हो। उक्त घटनाले पत्रकारको पेसागत सुरक्षामा प्रश्न उठाउनुका साथै स्वतन्त्र पत्रकारितामाथि नाङ्गो हस्तक्षेप गर्ने प्रयास भएको सोसाइटीको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सरोकार, सुशासन र अनियमिततासँग सम्बन्धित विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेकै कारण पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्य हो। कुनै समाचारप्रति असहमति भए कानुनी तथा विधिसम्मत प्रक्रियाबाट आफ्नो धारणा राख्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई डर, धम्की र मानसिक दबाब दिन खोज्नु अत्यन्तै निन्दनीय र अस्वीकार्य छ।”

अनलाइन मिडिया सोसाइटी धादिङले सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवालासँग उक्त घटनाको निष्पक्ष छानबिन गरी धम्की दिने व्यक्तिको पहिचान गर्न र प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न जोडदार माग गरेको छ। साथै, पत्रकार अधिकारीको सुरक्षा सुनिश्चित गर्दै पत्रकारहरूले भयमुक्त वातावरणमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पाउने अवस्था निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

जिल्लाका पत्रकारहरूले पनि समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने संवैधानिक बाटो हुँदाहुँदै डर, धम्की र मानसिक दबाब दिने कार्य प्रेस स्वतन्त्रता माथिको प्रहार भएको बताएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि राज्य, सुरक्षा निकाय र सम्पूर्ण नागरिक समाजलाई संवेदनशील र जिम्मेवार बन्न समेत अपिल गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version