काठमाडौँ ।नेपालमा यस वर्षको मनसुनी वायु आगमन अझै केही दिन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया जुन १३ मा नेपाल भित्रिने गरेको मनसुन यस वर्ष हालसम्म प्रवेश गरिसकेको छैन। विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझै केही दिन पर सर्न सक्ने स्पष्ट पारेको हो।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ। यसैका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तर, नियमित रूपमा सक्रिय हुनुपर्ने मनसुनी वायु भने प्रशान्त महासागर क्षेत्रमा विकसित भएको ‘एलनिनो’ प्रणालीका कारण प्रभावित भएको मौसमविद्हरूको भनाइ छ। एलनिनोको प्रभाव क्रमशः बलियो बन्दै गएकाले दक्षिण एसियाली मनसुनी प्रणालीमै अवरोध सिर्जना भएको र यसले नेपालमा पनि मनसुनलाई कमजोर बनाउने सम्भावना देखिएको छ।
ऐतिहासिक तथ्यहरूलाई हेर्दा पनि एलनिनो सक्रिय भएका वर्षहरूमा नेपालमा मनसुन ढिलो भित्रिने गरेको विभागको भनाइ छ। यसअघि सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा पनि एलनिनोकै प्रभावका कारण मनसुन सरदर मितिभन्दा ढिलो अर्थात् जुन १४ देखि जुन २७ को बीचमा मात्र नेपाल प्रवेश गरेको तथ्यांक छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको गतिविधिको निरन्तर अनुगमन गरिरहेको र यससम्बन्धी अद्यावधिक जानकारीहरू नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ।
मनसुन आगमनमा ढिलाइ हुने र प्रणाली कमजोर रहने सम्भावना बढेसँगै यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा पर्न सक्ने देखिएको छ। विभागले विशेषगरी कृषक, जलस्रोत व्यवस्थापन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई सम्भावित चुनौतीको सामना गर्न आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नागरिकहरूलाई भ्रममा नपरी मौसमसम्बन्धी आधिकारिक बुलेटिन र सूचनाहरूमा मात्र ध्यान दिन विभागले अनुरोध गरेको छ।



