काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को रोमाञ्चक खेलमा पूर्वविजेता फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको उक्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बिनाकुनै गोल बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवै टोलीबाट आक्रामक खेल प्रदर्शन हुँदा कुल चार गोल सम्भव भएको थियो।
खेलको ६६औँ मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सले खेललाई आफ्नो नियन्त्रणमा राख्दै ८२औँ मिनेटमा ब्राड्ली बारकोलामार्फत दोस्रो गोल थपेर अग्रतालाई दोब्बर बनायो। निर्धारित ९० मिनेटको खेल सकिएर थपिएको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले एक गोल फर्काउँदै खेललाई २–१ को रोमाञ्चक मोडमा पुर्याए पनि त्यो सान्त्वना मात्र सीमित हुन पुग्यो। त्यसको लगत्तै अर्को मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको ३–१ को सहज जित सुनिश्चित गरे।
विश्वकप अन्तर्गत समूह ‘आई’ कै अर्को खेलमा आज नर्वे र इराकबीच प्रतिस्पर्धा हुँदैछ। यसैगरी आजै हुने समूह ‘जे’ का खेलहरूमा अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ भने अर्को खेलमा अष्ट्रिया र जोर्डन आमनेसामने हुने खेल तालिका रहेको छ।



