काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप फुटबलबाट बाहिरिने पहिलो आयोजक टोली बनेको छ। अन्तिम १६ को खेलमा मोरक्कोसँग ३–० गोल अन्तरले पराजित हुँदै क्यानडाको ऐतिहासिक विश्वकप यात्रा टुंगिएको हो।

खेलको सुरुआत भने क्यानडाको पक्षमा देखिएको थियो। टेक्सासमा भएको प्रतिस्पर्धामा क्यानडाले पहिलो ११ मिनेटमै लगातार दबाब सिर्जना गर्दै जोनाथन डेभिड र टानी ओलुवासेयीमार्फत उत्कृष्ट अवसर बनाएको थियो। तर मोरक्कोका गोलरक्षक बोनोले दुवै प्रहार रोकेपछि क्यानडाले अग्रता लिन सकेन।

पहिलो हाफमा अपेक्षाअनुसार लय समात्न नसकेको मोरक्कोले दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै खेलको दिशा बदल्यो। अचराफ हाकिमीको फ्रिकिकबाट आएको कटब्याक पासलाई अजेदिन उनाहीले पेनाल्टी क्षेत्रको किनारबाट शक्तिशाली प्रहार गर्दै गोलमा परिणत गरेपछि मोरक्कोले १–० को अग्रता बनायो।

त्यसपछि खेलमा पूर्ण नियन्त्रण जमाएको मोरक्कोले खेल सकिन आठ मिनेट बाँकी रहँदा उनाहीकै व्यक्तिगत उत्कृष्ट प्रयासमा दोस्रो गोल थप्यो। इन्जुरी समयमा सौफियान रहिमीले गोलरक्षक म्याक्सिम क्रेपोलाई बिट गर्दै तेस्रो गोल गरेपछि मोरक्कोले ३–० को सहज जित सुनिश्चित गर्‍यो।

क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले सुरुआती प्रदर्शनमा आफ्नो टोली उत्कृष्ट रहेको प्रतिक्रिया दिए। विश्व वरीयताको सातौँ स्थानमा रहेको मोरक्कोविरुद्ध आफ्ना खेलाडीले उत्कृष्ट प्रतिस्पर्धा गरेको उनको भनाइ थियो।

खेलभर दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल देखियो। अंग्रेज रेफ्री माइकल ओलिभरले खेलमा कुल आठ पहेंलो कार्ड देखाएका थिए। पहिलो हाफमा दबाबमा परेको मोरक्कोले दोस्रो हाफमा प्रभावशाली पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यस जितसँगै मोरक्को लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनल पुग्न सफल भएको छ। अब उसले सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

यता, पराजयसँगै क्यानडाको पुरुष विश्वकप इतिहासकै सबैभन्दा सफल अभियान समाप्त भएको छ। यस संस्करणमा क्यानडाले पहिलो पटक विश्वकपमा अंक जोड्ने, जित निकाल्ने, समूह चरण पार गर्ने र नकआउट चरणसम्म पुग्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ इतिहास रचेको थियो।

Share.

Comments are closed.

Exit mobile version