काठमाण्डौं, २४ असार । नेपालमा मनसुन थप सक्रिय भएसँगै देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार असार २३ गते (मंगलबार) साँझदेखि असार २४ गते (बुधबार) साँझसम्म विशेषगरी पश्चिम तराईका जिल्लाहरूमा मौसम बढी आक्रामक हुने देखिएको छ ।

पश्चिम तराईका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना केही मौसमी मोडेलहरूले देखाएका छन् । ती क्षेत्रहरूमा आज असार २३ गते बिहानैदेखि वर्षा सुरु भइसकेको छ । जलवायुविज्ञ डा. उप्रेतीका अनुसार विशेषगरी भोलि असार २४ गते बुधबार पश्चिम तराईमा बढी सावधानी र सतर्कता अपनाउन आवश्यक छ ।

पश्चिम तराईमा वर्षा गराउने यो प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा छ । जसका कारण बुधबार (२४ गते) देखि बिहीबार (२५ गते) सम्म पूर्वी तराई लगायतका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम विश्लेषणले देखाएको छ ।

लगातारको वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि खहरे खोलाको आसपासमा बस्ने बासिन्दाहरूलाई सचेत रहन र सहरी क्षेत्रमा हुन सक्ने डुबानप्रति पूर्वतयारी अपनाउन आग्रह गरिएको छ । समयमै सतर्कता अपनाए सम्भावित ठूलो जोखिम र धनजनको क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूको भनाइ छ ।

यद्यपि, यो वर्षा कृषि क्षेत्रका लागि भने निकै फलदायी हुने देखिएको छ । अझै धेरै क्षेत्रमा धान रोपाइँ बाँकी रहेकाले किसानहरूका लागि यो वर्षा बाँकी रहेको रोपाइँ सम्पन्न गर्ने एउटा राम्रो अवसर समेत बन्नेछ । विपद्को जोखिमबाट बच्न सम्पूर्ण नागरिकलाई सुरक्षित र सजग रहन अपिल गरिएको छ ।

Share.

Comments are closed.

Exit mobile version