धादिङवेशी, – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ जयन्तीडाँडामा पहिरो खस्दा ६ वटा घरमा क्षति पुगेको छ। वर्षाका कारण बस्तीमाथि पहिरो झर्दा  घरमा क्षति पुगेको हो।

पहिरोका कारण जयन्तीडाँडाका स्थानीय बासिन्दाहरू राधिका खाँण, कृष्ण खाँण, कन्यावति तामाङ, मिन कुमार तामाङ, शर्मिला तामाङ र मिना कुमारी तामाङको घरमा क्षति पुगेको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो। घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घरका संरचनामा क्षति पुर्‍याए पनि मानवीय क्षति भने टरेको छ।

घटना लगतै वडा अध्यक्ष हरि श्रेष्ठको नेतृत्वमा नीलकण्ठ नगरपालिका विपद् व्यवस्थापन केन्द्रको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ। पहिरोको जोखिम बढेपछि प्रभावित परिवार तथा जोखिममा रहेका अन्य स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ। विपद् व्यवस्थापन टोलीले क्षति पुगेका परिवारलाई तत्काल आवश्यक पर्ने राहत तथा अन्य व्यवस्थापनका लागि पहल सुरु गरिसकेको जनाएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा भिरालो बस्तीहरूमा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासन र वडा कार्यालयले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन्।

Share.

Comments are closed.

Exit mobile version