काठमाडौं – नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको तीन महिना लामो विशेष अभियानका क्रममा अवैध हातहतियार कारोबार तथा प्रयोगमा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा गण्डकी प्रदेशबाट १८, कोशीबाट १४, लुम्बिनीबाट १३, मधेसबाट ११ र कर्णाली प्रदेशबाट १० जना पक्राउ परेका छन्। त्यसैगरी काठमाडौं उपत्यका र बागमती प्रदेशबाट ८/८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट भरुवा बन्दुक ४१ थान, कटुवा पेस्तोल ९ थान, अन्य बन्दुक ९ थान, एयरगन ३ थान, चाइनिज पेस्तोल २ थान, सामान्य पेस्तोल २ थान र रिभल्भर १ थान गरी ठूलो परिमाणमा हतियार बरामद गरिएको छ।
त्यस्तै, बरामद गरिएका गोलीगठ्ठामा एसएलआर का २६३ राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड, चाइनिज पेस्तोलका ४ राउन्ड र विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउन्ड गरी कुल ३५१ राउन्ड गोली रहेका छन्।
गैरकानुनी हातहतियारको कारोबार नियन्त्रण गरी अपराधमुक्त समाज निर्माणका लागि प्रहरी निरन्तर सक्रिय रहेको जनाउँदै नेपाल प्रहरीले कसैले हतियार लुकाइछिपाई राखेको भए तत्काल सूचना दिन वा स्वेच्छाले प्रहरीमा ल्याएर बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
