काठमाडौँ । नेपाली बजारमा मोटोरोला कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘मोटोरोला एज ७० फ्युजन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । चौधरी ग्रुपसँगको सहकार्यमा ललितपुरको लबिम मलस्थित QFX Cinemas मा आयोजित एक विशेष कार्यक्रमका बीच यो फोन सार्वजनिक गरिएको हो । स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढंग अपनाउँदै प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ कम्पनीले यो कार्यक्रम आयोजना गरेको थियो ।
स्मार्टफोनको औपचारिक उद्घाटन मोटोरोलाका कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’ का कलाकार, निर्माण टिमका साथै अभिनेत्री प्रियंका कार्कीको समेत विशेष उपस्थिति रहेको थियो । मोटोरोला र चौधरी ग्रुपले चलचित्र ‘मास्टर्नी’ सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै उक्त चलचित्रको विशेष प्रदर्शन समेत आयोजना गरेका थिए । देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई प्रविधि र मनोरञ्जनको नयाँ अनुभवका रूपमा हेरिएको छ ।
सार्वजनिक गरिएको मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी क्यामेरा, मोटो एआई, ७,००० एमएएचको शक्तिशाली ब्याट्री र ६८ वाटको टर्बोपावर चार्जिङ सुविधा रहेको छ । यसमा १४४ हर्जको १.५के क्वाड-कर्भ्ड डिस्प्ले र ५,२०० निट्ससम्मको ब्राइटनेस दिइएको छ । प्रिमियम फेब्रिक फिनिस र प्यान्टोनद्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध यो स्मार्टफोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
आगामी २९ अगस्ट २०२६ देखि नेपालभरका आधिकारिक स्टोरहरूमा बिक्रीका लागि उपलब्ध हुने यो फोन आफ्नो मूल्य श्रेणीका अन्य प्रतिस्पर्धी स्मार्टफोनहरूको तुलनामा निकै आकर्षक विकल्प बन्ने देखिन्छ । नेपालमा चौधरी ग्रुपको व्यापक वितरण सञ्जालमार्फत उपलब्ध भइरहेको मोटोरोलाका उत्पादनहरूका लागि कम्पनीले उत्कृष्ट बिक्रीपछिको सेवा तथा सेवा केन्द्रहरूको सुविधा समेत प्रदान गर्दै आएको छ ।
Share.

Comments are closed.

Exit mobile version