धादिङ- चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण नुवाकोट र धादिङ जिल्लाले इतिहासकै ठूलो क्षति र महाविपत्ति बेहोरेका छन्। बाढीका कारण नुवाकोटमा करिब ३ सय जना नागरिक बेपत्ता भएका छन् भने दुवै जिल्ला गरी हालसम्म ३५ जनाको शव फेला परिसकेको छ।
धादिङमा ५ पक्की पुलसहित १८ शव फेला, मलेखुमा ३ जनाको उद्धार बाढीका कारण धादिङको सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्ग तथा मुख्य शहरहरूसँग जोड्ने फुर्केखोलास्थित पक्की पुल पूर्ण रूपमा बगाएको छ। यसले गर्दा सदरमुकामसहित उत्तरी धादिङको यातायात तथा जनजीवन ठप्प बनेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार फुर्केखोला पुलसहित जिल्लाका विभिन्न स्थानमा ५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। गजुरीको घाटबेँसी, जहरे, गल्छीको जिन्टेटार तथा गल्छी–नुवाकोट जोड्ने पुललगायतका संरचनामा बाढीले ठूलो क्षति पुर्याएको छ।
यसैबीच, त्रिशूली नदी किनारका विभिन्न स्थानबाट हालसम्म १८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो। फेला परेका शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको छ। बाढीका क्रममा मलेखु क्षेत्रमा बालुवा चाल्ने क्रममा फसेका तीन जनाको भने सकुशल उद्धार गरिएको छ। विपद् व्यवस्थापन र उद्धारका लागि तीनवटै सुरक्षा निकाय पूर्ण रूपमा परिचालन गरिएको छ।
नुवाकोटमा ३ सय बेपत्ता, १७ शव फेला र ८ सय घरमा क्षति उता नुवाकोटमा पनि बाढीले व्यापक विनाश पुर्याएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढी तथा पहिरोमा पुरिएका बस्तीहरूबाट हालसम्म १७ जनाको शव फेला परेको छ भने करिब ३ सय जना अझै बेपत्ता छन्। सञ्चार तथा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रको यकिन विवरण संकलन गर्न र उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ। खोज तथा उद्धारमा खटिएका केही सुरक्षाकर्मीहरूसमेत नेटवर्क अवरोधका कारण सम्पर्कविहीन बनेका छन्।
बाढीमा परी घाइते भएका ३९ जनाको उद्धार गरी उपचार भइरहेको छ भने कुल ६३ जनाको सकुशल उद्धार गरिएको छ। केही गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीका कारण विदुर नगरपालिकाका वडा नम्बर १, ४, ५, ६, ९ र १०, बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ तथा तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ गम्भीर रूपमा प्रभावित भएका छन्।
भौतिक पूर्वाधारतर्फ नुवाकोटमा ८ वटा सरकारी कार्यालयहरू बगरमा परिणत भएका छन् भने पुरानो कारागारको संरचना पूर्ण रूपमा बगाएको छ। १ वटा विद्यालय भवन बगाए पनि त्यहाँ अध्ययनरत बालबालिकाहरू भने सकुशल रहेका छन्। बाढीले नुवाकोटमा ११ वटा पक्की पुल, ९ वटा झोलुङ्गे पुल र करिब ८ सय निजी घरहरूमा क्षति पुर्याएको छ।
दुवै जिल्लामा विद्युत्, सडक र टेलिफोन सम्पर्क पुनःस्थापना गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासन निरन्तर खटिरहेका छन्।
