गोरखा – बूढीगण्डकी नदीमा भीषण बाढी आउँदा उत्तरी गोरखाको सल्लेरी बजार पुरै बगाएको छ भने नजिकैको जगत बजारमा ठूलो क्षति पुगेको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि फुटेर विकराल बाढी आएको अनुमान गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै ठूलो आवाजसहित नदीमा पानीको बहाव ह्वात्तै बढेको हो। बूढीगण्डकीको सहायक नदी स्यारखोला हुँदै आएको बाढीले लेदो र गेग्रानसहित बजार क्षेत्र कटान गरेको हो।
बिहान साढे ४ बजेतिर ठूलो विकराल आवाजसहित बाढी आउन सुरु गरेपछि किनार आसपासका बासिन्दाहरू भागाभाग गर्दै सुरक्षित स्थानतर्फ सरेका थिए। माथिल्लो क्षेत्रमा पहिरोले नदी पटक-पटक थुनिने र खुल्ने भइरहेकाले बहाव अनियन्त्रित भई तल्लो तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेको छ।
बाढीले सल्लेरी बजार बगाइसकेको र जगत बजारमा समेत व्यापक क्षति पुर्याइसकेकाले तल्लो तटीय क्षेत्रका बस्तीहरूमा उच्च जोखिम बढेको छ।
प्रशासन तथा स्थानीय तहले नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाट लगायतका बजार तथा बस्तीका बासिन्दालाई फोन तथा माइकिङमार्फत तत्काल सुरक्षित स्थान तथा उच्च भूभागमा सर्न आग्रह गरेका छन्। बाढीबाट भएको थप क्षति र पछिल्लो अवस्थाको विस्तृत विवरण आउन अझै बाँकी छ।
