गोरखा : असोज २५ गते बिहान साढे पाँच बजे गोरखाको सिरिङ्गी हिमालमा खसेको हिमपहिरोका कारण उइनगुलुङ खोला थुनिएर एकाएक फुटेपछि बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। चुमनुब्रि गाउँपालिका-६ लोक्पा र चुम्लिङको बिचमा हिमपहिरोले खोला थुनिएर आएको यस बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रहरी तथा स्थानीय प्रशासनले सार्वजनिक गरेको हालसम्मको क्षतिको विवरण अनुसार बाढीले दर्जनाऊ घर-टहरा, पक्की तथा झोलुङ्गे पुल, जलविद्युत आयोजना र गोठहरू बगाएको छ।

बाढीले चुमनुब्रि गाउँपालिका-३ सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ। यस्तै घट्टेखोलामा सपना गुरुङको एउटा कच्ची घर, भैवा गुरुङको दुईवटा घर, विकास गुरुङको पाँच कोठे भवन र दुधपोखरी आमा समूहको तीन कोठे भवन बाढीको तीव्र बहावले बगाएको छ। सोही स्थानका बहादुर गुरुङको घरभित्र बाढी पसेर क्षति पुगेको छ। चुमनुब्रि-३ कै पैयुँमा करिब सात वटा र बगरमा करिब छ वटा घरहरू बाढीको लेदोले पुरिएका छन् भने सल्लेरीका करिब बाइस वटा घरहरू बाढीको उच्च जोखिममा परेका छन्।

धार्चे गाउँपालिका-५ माछिखोलास्थित तल्लो बस्तीका करिब सात वटा घर तथा टहरामा बाढी पसेको छ। त्यस्तै किराना सामान राख्ने चार वटा स्टोर र बाह्र वटासम्म सुँगुरका खोरहरू बाढीको लेदोले पुरिएका छन्। धार्चे-१ यारुबगरमा बाह्र वटासम्म र दोभानका छ वटासम्म घरमा बाढीले क्षति पुर्‍याएको छ। उता आरुघाट गाउँपालिका-३ सोतीमा समेत करिब १५ वटा घरमा बाढी पसेर क्षति पुर्‍याएको छ।

उर्लिएर आएको बाढीले गोरखा र धादिङ जोड्ने तथा आन्तरिक आवतजावतका मुख्य पुल पूर्वाधारहरू ध्वस्त बनाएको छ। चुमनुब्रि-३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे-५ माछिखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन्। यसैगरी आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले ढालेको छ। गोरखा र धादिङ जोड्ने आरुघाट ९ स्थित नयाँपुलको तीन भागमध्ये गोरखातर्फको एक भाग बाढीले बगाएपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका-१ स्थित यारुबगर र दोभानमा रहेका हाइड्रोपावरमा क्षति पुगेको छ भने चुमनुब्रि-३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस वरपर रहेका आठ वटासम्म घरहरू बाढीले बगाएको छ।

हिमपहिरो गएको सिरिङ्गी हिमालफेदी उइनगुलुङ भन्ने स्थानमा प्रहरी टोली पुगेर हेर्दा करिब नौ किलोमिटर क्षेत्रमा पहिरो गएको पाइएको छ। सो क्षेत्रका नौ वटा भेडीगोठ र अन्य तीन-चार वटा गोठहरू बाढीले बगाएको छ भने भेडीगोठमा बस्ने मानिसहरू सम्पर्कविहीन भएको बुझिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी चुमनुब्रि-६ चुम्चेत लोक्पा होमस्टे क्षेत्रबाट ६९ वर्षीय सोनाम लामा, लोक्पा होमस्टे सञ्चालक ५५ वर्षीया अञ्जिलामा (जिग्मे दोर्जे), ६६ वर्षीया बन्ते सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन्जिङ दोर्जे लामा गरी पाँच जना स्थानीय नागरिकहरू सम्पर्कविहीन भएका छन्।

बाढीमा फसेका नागरिकहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। धार्चे-१ यारुबगरमा फसेका अठार जना स्थानीय तथा हाइड्रोका मजदुरहरूलाई सेनाको हेलिकप्टरले सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। यस्तै चुमनुब्रि-३ न्याकफेदीबाट नौ जना नागरिकलाई उद्धार गरी न्याकगाउँमा राखिएको छ। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका छन्।

Share.

Comments are closed.

Exit mobile version