काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताउनुभयो । उहाँले सिमित श्रोत, साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ रु भन्ने हेतुले आवष्कार केन्द्रसँग सम्झौता गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउनसके ठूलो धनराशीको खर्च पनि नहुने र राज्यको सिमति खर्चभित्र उपकरणहरु व्यवस्थापन हुने बताउनुभयो । उहाँले थन्किएको उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने बताउनुभयो । मन्त्री पौडेलले संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको बताउनु भयो । उहाँले संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्नसक्नेलाई मर्मत गर्ने बताउनुभयो ।

Share.

Comments are closed.

Exit mobile version