काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ । आज आइतवार बिहान झापाको बिर्तामोडमा उहाँले यस्तो बताउनुभएको हो ।

गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने अध्यक्ष दाहालले बताउनुभयो ।

आइतवार बिहान सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘शायद मैले यिनै बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भएपनि, सदनबाट भएपनि, सरकारबाट भएपनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।’

‘मर्निङ वाक’मा निस्किनुभएका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उहाँले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताउनु भएको हो ।

Share.

Comments are closed.

Exit mobile version