काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक सोमबारलाई स्थगित गर्नुभएको हो । बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने छ ।

आइतबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि ‘हिंसा’ शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ः १५ बजेका लागि सारिएको थियो। तर, बैठक अपराह्न: ४ बजेसम्म बैठक बस्न नसक्दा सारिएको हो ।

संसद्‌मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि उक्त शब्द असंसदीय रहेको भन्दै माओवादीले रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ ।

भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गर्नुभएको थियो । त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै ‘हिंसा’ शब्द असंसदीय रहेको दाबी गर्दै रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको थियो ।

भट्टराईले सो शब्द प्रयोग गरेका सम्बन्धमा सभामुख घिमिरेले छानबिनपछि भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ भन्ने शब्द असंसदीय नरहेको ठहर भएको भन्दै रुलिङ गर्नुभएको थियो । त्यसयता माओवादीले संसद्‌मा निरन्तर अवरोध गर्दै आएको छ ।

आइतबार बोलाइएको संसद् बैठकअघि संसद् सञ्चालनको वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको थियो। तर सहमति जुट्न सकेन । लगत्तै माओवादीको अनौपचारिक रुपमा बसेको संसदीय दलको बैठकले सभामुखले गरेको रुलिङ फिर्ता नभएसम्म संसद्‌मा अवरोध कायमै राख्ने निर्णय गरेको थियो ।

माओवादीको अवरोधपछि सभामुख घिमिरेले उक्त विषयमा छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो। आइतबारको छलफलमा सभामुख घिमिरेले आफूले संसद् सचिवालयको अध्ययनसहितको राय, संविधान, कानुन, अभ्यास समेतका आधारमा निर्णय लिएको बताउनुभएको थियो। सभामुखको रुलिङ मानेर संसद्‌मा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रले पार्टीको निर्णयबाट पछि हट्न नसकिने भन्दै अडान लिँदै आएको छ । दुवै पक्षको अडानका कारण संसद् बैठक प्रभावित भएको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सभामुखको रुलिङका विरुद्धमा जाने छुट सांसदहरूलाई नरहेको बताउनुभएको छ । सभामुख घिमिरेसँगको प्रमुख सचेतकहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रका सांसदहरूले सभामुख घिमिरेले रुलिङ गरिसकेको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने भनिरहेकामा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताउनुभयो ।

माओवादी पार्टीले भने सभामुख घिमिरे एकपक्षीय बनेको भन्दै त्यस्तो नगर्न आग्रह गर्दै आएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version