काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित देशका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित देशले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताउनुभएको हो । ‘धनी र गरिब देशका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ ।

आर्थिक कठिनाइका कारण गरिब देशका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको एक अङ्ग भएको बताउनुभयो ।

‘निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ । विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए,’ उहाँले स्मरण गर्नुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version