काठमाडौं । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनऐ)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बसेको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो ।

बैठकले गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ । समितिमा संघका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ ।

एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैठकले वर्षाका कारण उत्पन्न भएका विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यस्तै संघले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version