बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावितहरूका लागि करिब तीन करोड रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने गरी उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सोमबारको तथ्यांकअनुसार विपद्बाट बढी क्षति भएको देखिएका काभ्रेपलाञ्चोक जिल्लालाई ६० लाख, धादिङलाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाडौंलाई २० लाख, सिन्धुपाल्चोकलाई २० र दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरूलाई १०-१० लाखका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा दुई करोड ३० लाख रकम प्रदान गर्ने मन्त्री लामिछानेले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयहरूबाट थप रकम माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराई कार्यकारी समितिबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को (ख) बमोजिम खोज, उद्धार तथा प्रतिकार्यसम्बन्धी कार्य गर्नका लागि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम वाग्मती प्रदेशका १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा पाँच-पाँच लाखका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट कुल ६५ लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version