धादिङ – धादिङ र काठमाण्डाैकाे सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी शुरू भएको छ ।
तीन वटा गाडीमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि गाडी पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी शुरू गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुई वटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको ठाउँमा एउटा कार पनि पुरिएको भन्ने आशङ्कामा खोजी शुरू गरेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ । गाडीको चापकै कारण जोखिमपूर्ण ठाउँहरूमा जाम हुन नदिन काठमाण्डाै भित्रिने र बाहिरिने गाडीलाई आलोपालो गरी आउजाउ गराइएको छ ।
शुक्रवार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो । झ्याप्ले खोलामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको गएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।