काभ्रेपलाञ्चाेक – रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रूपमा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ ।

रोशी खोलाको बहावलाई सोझ्याएर पहिले बगेकै ठाउँमा पुर्‍याउने र अस्थायी सडक बनाउने तयारी थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । विभागले आजदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम शुरू गरेको हो । रोशी खोलाले पहिले सडक भएको ठाउँबाट झन्डै २० देखि ५० मिटर उचाइमा कटान गरेको छ ।

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अब खोलालाई पहिलेकै ठाउँमा बग्नेगरी सोझ्याएर पहिले सडक रहेकै ठाउँमा अस्थायी सडक बनाउनेगरी काम थालेको बताउनुभयो । अब दुई दिनभित्र एकतर्फी भए पनि गाडी चल्नेगरी अस्थायी सडक बनाउने काम गरिएको उहाँको भनाइ छ ।

मध्यपहाडी क्षेत्र हुँदै काठमाण्डौलाई पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको बीपी राजमार्ग गएको बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण पैदलसमेत आवतजावत गर्न असहज छ ।

सिन्धुलीमा ठाउँ–ठाउँमा बगेको सडक कसरी निर्माण गर्ने भन्ने अझै टुङ्गो छैन । सिन्धुली र काभ्रेका विभिन्न ठाउँमा सडक बगेकाले कैयाैं गाडी बीचको सडकमा फसेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version