भक्तपुर । मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको निर्वाचन आगामी मङ्सिर २८ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।
सदस्यता शुद्धिकरणको नाममा कृयाशिल पत्रकारलाई हटाएर राजनैतिक दलको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिलाई पत्रकार महासंघको सदस्यता दिएपछि नेपाल पत्रकार महासंघ विवादको भूमरीमा फसेको छ । तोकिएको मितिमा निर्वाचन गर्न नसकेपछि आलोचित बन्दै आईरहेको छ । सोही विवादले चरम रुप लिएपछि यस अघि पटक पटक तोकिएको निर्वाचन स्थगित हुनुका साथै अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष रमेश बिष्टले पदबाट राजिनामा दिएका छन् ।
त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।