काठमाण्डाै – नेपाल र बङ्गलादेशबीच भएको ४० मेगावाट बिजुली बिक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच काठमाण्डाैमा भएको यो सम्झौतालाई इप्पानले ऐतिहासिक सम्झौताको रूपमा लिएको जनाएको छ ।

२०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता भइसकेको पृष्ठभूमिमा बङ्गलादेशसँग भएको यो सम्झौताले दुई देशबीच सरकार–सरकारसँगै निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको इप्पानको ठहर छ ।

बङ्गलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारले आउँदो १० वर्षभित्र ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।

यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए) पूर्णरूपमा खुला हुनुपर्ने इप्पानको माग छ । यसका साथै निजी क्षेत्रलाई बिजुली निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरू घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि अहिले देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरूको समाधानका लागि सरकार तत्पर हुनुपर्ने आवश्यकता रहेको इप्पानको भनाइ छ ।

Share.

Comments are closed.

Exit mobile version