काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका नेताहरूले बनाएको नेकपा एकीकृत समाजवादी स्थापनाको तीन वर्षमै फुटको संघारमा पुगेको छ । नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा पूर्वअध्यक्ष झलनाथ खनालसहितका नेताहरूले २०७८ भदौ २ गते एमाले विभाजन गराएका थिए । स्थापनाको तीन वर्ष पुग्दा पनि विद्रोहको औचित्य पुष्टि गर्न नसकेको आरोप झेल्दै आएको नेकपा एसका एक सय जनाभन्दा बढी नेताहरूले यथास्थितिमा पार्टीमा नरहने बताएका छन् ।
गत असारमा सम्पन्न महाधिवेशनमा प्रतिनिधिहरूको मतदानबाट नेतृत्व चयन हुन सकेन । सहमतिका नाममा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसालसहित केन्द्रीय कमिटीमा रहने ९३ जनाको नाम महाधिवेशनको हलले पारित गरेको थियो । महाधिवेशनले केन्द्रीय कमिटीको आकार २९९ सदस्यीय हुने निर्णय गरेको थियो । यद्यपि, शीर्ष नेताहरूले हाल ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् । केन्द्रीय कमिटी गठन नै अवैध भएको, नेतृत्वले आपसी भागबण्डालाई मात्रै प्राथमिकता दिएको र पार्टीभित्र पद्धति बसाल्न नसकिएको भन्दै अधिकांश नेताहरूले पुनः विद्रोहको चेतावनी दिएका छन् । यसरी चेतावनी दिनेहरूमा केन्द्रीय कमिटीकै करिब एक सयजना छन् ।
अध्यक्ष नेपालले यसअघि पटक-पटक सार्वजनिक रूपमै आफ्नो पार्टीं फुटाउन षड्यन्त्र भइरहेको बताउँदै आउनुभएको थियो । अहिले भने आन्तरिक विवादले नै नेकपा एसमा विभाजनको रेखा कोर्ने सम्भावना बढेको छ । यसैबीच अध्यक्ष नेपालले असन्तुष्ट नेताहरूको माग सम्बोधन गर्ने र पार्टीभित्रका समस्या समाधान गर्ने सन्दर्भमा आन्तरिक छलफल सुरु गर्नुभएको छ । नेपालनिकट एक नेताका अनुसार कात्तिक २ गते बस्ने केन्द्रीय कमिटी बैठकबाटै समस्या समाधान गर्नेगरी संवाद सुरु भएको छ ।
सय नेताले दिए विद्रोहको चेतावनी
नेकपा एसका करिब एक सय नेताले सोमबार अध्यक्ष नेपाललाई भेटेर पार्टीभित्र पद्धति स्थापना नभए ‘असन्तुष्टिको विस्फोट’ हुने चेतावनी दिएका छन् । उनीहरूले पार्टीको आन्तरिक एकता जोगाउने सम्बन्धमा दुई बुँदे मागसमेत राखेका छन् । दुई पन्ने पत्रमा उल्लेख दुई बुँदामध्ये पहिलो बुँदामा महाधिवेशनको म्याण्डेटविपरीत गरिएका सबै काम कारबाही खारेज गर्न माग गरिएको छ । त्यस्तै, दोस्रो बुँदामा पार्टीको आन्तरिक एकता जोगाउने सम्बन्धमा गम्भीर समीक्षा र निर्णय लिन केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन माग गरिएको छ ।
नेताहरूले पार्टीको दशौँ महाधिवेशन र त्यसयताका घटनाक्रमहरूले गम्भीर खतराको संकेत गरेको पत्रमा उल्लेख गरेका छन् । ‘खासगरी पदाधिकारी र पोलिटब्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएका छन् । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो परिदृश्य देखापर्नु ज्यादै दुःखद विषय हो’, अध्यक्षलाई बुझाइएको पत्रमा उल्लेख छ । पत्र बुझाउनेमा केन्द्रीय नेताहरू डा.विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह लामा, सागर नेपाल लगायतका छन् । उनीहरूले पार्टी पदाधिकारीहरूलाई पनि आफ्ना मागबारे अवगत गराएका छन् ।
एमालेमा भन्दा फरक भएन : पौडेल
नेकपा एसका नेता डा.विजय पौडेलले पार्टीभित्र देखापरेका समस्याहरू समाधानका लागि नेतृत्वले आत्मसमीक्षा गरेर सुधार गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमालेमा जुन समस्या देखेर छोड्नुपरेको थियो त्योभन्दा जटिल समस्या समाजवादीमा भोग्नुपरेको उहाँले बताउनुभयो । ‘एमालेमा हुँदा जुन आन्तरिक लोकतन्त्र र विधिका लागि लडेका थियौँ अहिले त्योभन्दा खराब स्थिति यता भयो । नेतृत्वले कमजोरी सुधार नगर्ने हो भने पार्टी र आन्दोलन गम्भीर खतरामा पर्ने देखेका छौँ’, पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाए बैठकमा सबै विषयमा छलफल हुने बताउनुभयो । आफूहरूले पार्टी एकता जोगाउनकै लागि पहल लिएको भन्दै उहाँले मूल जिम्मेवारी नेतृत्वको हुने उल्लेख गर्नुभयो ।
– हिमालय टाईम्स बाट
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।