काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा सूचीकृत भएको छ ।

सामाजिक सहिष्णुता नै खलबलीएको भन्दै गत बर्ष कार्तिकमा टिकटकमाथि नेपाल सरकारले प्रतिवन्ध लगाएको थियो । त्यसयता टिकटकले सरकारी निर्देशन मान्ने बताउँदै नेपालमा यसको प्रतिवन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएको थियो । यसै बर्षको भदौ ६ मा सरकारले नेपालमा टिकटकमाथिको प्रतिवन्ध हटाएको थियो । टिकटकले सरकारी प्रावधानहरु मान्ने र अल्गोरिदममासमेत केहि परिवर्तन गर्ने शर्तसहित नेपालमा प्रतिवन्ध फुकुवा भएको थियो ।

सरकारले गत बर्ष मंसिर ११ गते ‘सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो । त्यससँगै पूर्ण रुपमा कार्यान्वयनमा आएको उक्त निर्देशिकामा फागुन १४ सम्म नेपालमा संचालित सामाजिक संजाल प्लेटफर्महरु दर्ता भईसक्नुपर्ने उल्लेख थियो ।

सोही अनुसार टिकटकले सरकारका शर्तहरु मान्ने भन्दै मन्त्रालयमा पत्र पठाएको थियो । निर्देशिकामा उल्लेख गरिएका डकुमेन्ट उपलब्ध गराउनका लागि भने थप समय माग गरेको थियो । उक्त डकुमेन्टहरु पुर्याएपछि र सरकारी प्रावधानहरु मान्ने सम्झौतासहित टिकटक नेपालमा आधिकारीक रुपमा सूचीकृत भएको संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए ।

सामाजिक संजाल नियमन गर्ने निर्देशिकामा निर्देशन नमान्ने सामाजिक संजाल नेपालमा प्रतिवन्ध लगाउन सक्ने उल्लेख भएपनि सरकारले व्यक्तिको सूचनाको हक खोसिने भन्दै सामाजिक संजालमा प्रतिवन्धसमेत लगाउन सकेको छैन । तर, यहि कुराको फाईदा उठाउँदै नाम चलेका प्लेटफर्महरु, गुगल, फेसबुक, ह्वाट्सएप, एक्स, स्न्यापच्याट, लिंक्डईन, रेडईट, टेलिग्रामलगायतले सरकारी आग्रहको बेवास्ता गर्दै आएका छन् ।

निर्देशिकामा सामाजिक संजाल प्लेटफर्मका प्रतिनिधि स्वयं मन्त्रालयमा उपस्थित भएर या अनलाईनमार्फत पनि सूचीकरण हुन सकिने व्यवस्था छ । सूचीकरण नभए सरकारले यस्ता सामाजिक संजाल प्लेटफर्मलाई संचालनमा प्रतिवन्ध लगाउन सक्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

निर्देशिकाले सामाजिक संजाल प्रयोगकर्ताले फेक आईडी खोल्न नहुने, अरुका कन्टेन्ट बंग्याएर सेयर गर्न नहुने, जभाभावी कमेन्ट गर्नसमेत नहुनेलगायतको व्यवस्था गरेको छ ।

नेपालमा सूचीकरण भएका सामाजिक संजाल प्लेटफर्मले प्रत्येक ३–३ बर्षमा अध्यावधिक गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version