जनकपुरधाम । मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल आजपनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।
शनिबार बसेको बैठक पनि विपक्षी दलहरुले बहिष्कार गरेपछि बजेटमाथिको छलफल हुन नसकेको हो । असार २२ देखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण छैठौं पटक बैठक स्थगित भएको छ ।
विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन् ।
शनिबारको बैठकमा सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति पनि भएको थियो । तर, कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखिएकोमा विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
विपक्षी दलहरुले कार्यदलबाट मन्त्रीलाई नहटाएसम्म आफुहरुले सहमति नगर्ने बताएका छन् । कार्यदलमा सत्ता पक्षबाट मन्त्री सरोज यादव र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव छन् । विपक्षीबाट जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, र नेकपा (एकीकृत समाजवादी) का मनीष पटेल सदस्य छन् ।

आजको विपक्षी दलहरुले रोष्टम घेरेर अवरोध गरेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


