काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।विजयादशमीका शुभसाइतमा असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे रहेको छ भने असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) रहेको छ । त्यस्तै असोज ११ गते शनिवार – श्रीपचलीभैरव यात्रा छ भने असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे रहेको छ । त्यस्तै असोज १४ गते मङ्गलवार – महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे रहेको छ । त्यस्तै असोज १६ गते बिहीवार – विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने), श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे र स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा रहेको छ । त्यस्तै असोज २० गते सोमवार – अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत रहेको छ ।
२- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन आजराती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
३- जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ । भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि भाद्र ३१ गते नेपाली सेनाको हेलिकप्टरबाट सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको हो । यसअघि अहिलेसम्म पोष्टमार्टम गरिएका शवको टिचिङ अस्पतालदेखि शव यात्रा गरिएको थियो । अन्य शवको भने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
४- उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । कुलमानको निर्देशनपछि उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको र प्राधिकरणले प्रयोग गर्न सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको छ । यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।
५- मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् । मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईको पुलबाट करिब १०-१२ फिट तल खोल्सामा खसेको थियो । दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ । मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।
६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले उनको परिवार र व्यवसायको बारेमा झूट फैलाएको बताउदै फ्लोरिडा राज्यमा यसविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले दशकौंदेखि आफुविरुद्ध ‘झूटा’ समाचार प्रकाशित गर्दै आएको बताएका छन् । यसले वामपन्थी दलहरूको भाषा लेख्छ भन्दै ट्रम्पले यो पत्रिकाले डेमोक्र्याटिक पार्टीलाई प्रवर्द्धन गर्ने गरेको बताएका छन् । यसले कमला ह्यारिसको समर्थनमा पहिलो पृष्ठमा एक लेख प्रकाशित गरेको थियो भने यो अमेरिका फर्स्ट मुभमेन्टविरुद्ध भएको उनले बताएका छन् । उनले लेखेका छन्- ‘पत्रिकाले भिडियो र कागजातहरू हेरफेर गरेर लामो समयदेखि अफवाह फैलाउँदै आएको छ । जुन गैरकानूनी हो । यो रोक्नुपर्छ । म यो गर्न गर्व गर्छु ।’ ट्रम्पको यो बयान न्यूयोर्क टाइम्सले ट्रम्प र कुख्यात फाइनान्सर जेफ्री एपस्टाइन बीचको सम्बन्धमा समाचार प्रकाशित गरेपछि आएको हो ।
७- प्रधानमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् । बिबिसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी हुन् । उनले भनेकी छन्- ‘राष्ट्रपतिले राजनीतिक दलका एक एक जना लिएर बृहत निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्नु भएको थियो । तर मैले त्यस्तो राम्रो हुदैन, स्वतन्त्र मान्छे हुनुपर्छ भनेको छु । अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ । त्यसमा जनजाती, दलित, महिला, पिछडिएको पनि भयो भने, त्यस्तो व्यक्तिहरुको हामी खोजीमा छौं । नाम त थुप्रै आएको छ तर त्यसमध्येमा हामीले पोलिटिक्समा गएको छ की छैन भन्ने हेरिरहेका छौं ।’ प्रधानमन्त्री कार्कीले निर्वाचनमा नजाने व्यक्तिलाई मन्त्री बनाउन सोचाइमा रहेको बताएकी छन् । उनले आफुलाई सहयोग गर्नेहरुबाट नामहरुमा विचार गरिरहेको बताएकी छन् । उनले आफुसँग केवल ६ महिनाको समय भएको र निर्वाचनमा केन्द्रित भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको छानबिन गर्ने समितिले एक महिना र बढीमा ४५ दिनमा सक्ने गरि बढीमा तीन जनाको समिति बनाएर अध्ययन गराउने समेत बताएकी छन् ।
८- अर्थमन्त्री रामेश्वर खनालले आगजनीबाट प्रभावित भाटभटेनीको कोटेश्वर शाखा अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आजगनी गरेपछि ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको अनुगमन गर्दै अर्थमन्त्री खनालले दृढता र हौसला मिलेको भाटभटेनीले जनाएको छ । भाटभटेनीले भनेको छ- अर्थमन्त्री खनालको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’ अर्थमन्त्री खनालले आजै थापाथलीस्थित सिजी शो रुमको पनि अनुगमन गरेका थिए ।
९- जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपतिमा अन्त्यष्टि गरिएको छ । टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा गरी अन्त्येष्टि गरिएको हो ।टिचिङ अस्पतालबाट मृतकका मृतक र हजारौं सहभागी भएर शव यात्रा गरिएको थियो । सरकारको तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ उपस्थिति भएर शवमा नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।
१०- इजरायलले गाजा शहरमा भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् । मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् । यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएका बेला भएका छन् । मंगलबार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखे, ‘गाजा जलिरहेको छ ।; उनले चेतावनी दिए कि इजरायल ‘मिशन पूरा नभएसम्म पछि हट्ने छैन ।’ गाजाका स्थानीय पत्रकारहरूले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् । घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ । इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन ।
११- गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन् । उनले स्रोत जुटाएर भएको क्षतिको पुनर्निर्माण गर्ने बताए । उनले कतिपय ठाउमा मर्मत गरेरनै हुने अवस्था छ भने कतिपय ठाउमा पुनर्निर्माण नै गर्नु पर्ने अवस्था रहेको बताए । उनले आउने सहयोग र सरकारसँगको बजेट व्यवस्थापन गरेरै अगाडी बढ्ने बताए । केहि कुरामा धैर्यता राख्नुपर्ने बताउदै संरचना ध्वस्त गर्ने कुरा बेठिक नै भएको बताए ।
१२- राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएक हुन् । भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरि अघि बढ्न आग्रह गरेकी थिइन् ।
१३- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् । उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको देशलाई बचाउन भन्दै गएको बताए । उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफु काठमाडौँ गएको उनले बताए । साथै उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबि गरे ।
१४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गरेका छन् । प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका माइन्युट र लाइब्रेरी बचेको पाएको बताएका छन् । उनले केन्द्रीय कार्यालयमा उपस्थित भई जनयुद्ध र जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी कार्यालयको अनुगमन गरेका थिए । प्रचण्डले अब भव्य पार्टी कार्यलय बनाउने समेत घोषणा गरे । उनले सबै पार्टी कार्यकर्ताको सहयोगमा केहि दिनमै भव्य नयाँ कार्यालय बनाउने बताए ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु खारेज हुने चेतावनी दिएका हुन् । ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन्- ‘मैले भर्खरै एउटा समाचार रिपोर्ट पढें कि हमासले जमिनमाथि बन्धकहरू लिएर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । आशा छ, हमास नेताहरूले यो गरेमा उनीहरू के गरिरहेका छन् भनेर जान्नेछन् । अमेरिकी राष्ट्रपतिले यसलाई ‘मानवीय क्रूरता’ भनेका छन् । उनले भने- ‘यस्तो हुन नदिनुहोस् नत्र, सबै सर्तहरू खारेज हुने छन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्नु !’ गत हप्ता, इजरायलले कतारको दोहामा हमास नेताहरूमाथि आक्रमण गरेपछि गाजाको वातावरण बिग्रिएको छ । यो आक्रमणको अमेरिकी राष्ट्रपति ट्रम्पसहित धेरै देशका नेताहरूले निन्दा गरेका छन् भने अरब देशहरुले इजरायलसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।
१६- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २५७५ मा कारोबार भएको थियो ।
१७- साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ । देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७ अर्ब ४१ करोड पुगेको जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९ खर्ब ३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।
१८- विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको उल्लेख छ । राष्ट्रबैंकले २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छजनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६ खर्ब ३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई २९ खर्ब ४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
१९- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले साउन महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको जानकरी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८२- ८३ को पहिलोमहिनामा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल-धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ । त्यसैगरी आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड बराबरको भएको थियो ।
२०- भारत एसिया कपको आफ्नो अन्तिम लिग खेल अघि नै सुपर-४ मा पुगेको छ । सोमबारको पहिलो खेलमा युएईले ओमानलाई ४२ रनले पराजित गरेपछि समुह ए बाट भारत सुपर फोरमा पुगेको हो । यो नतिजाले पाकिस्तानको बाटो कठिन बनाएको छ । अब पाकिस्तानले सेप्टेम्बर १७ मा युएई विरुद्ध कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । भारतीय टोलीले आफ्ना दुवै लिग खेल जितेको छ र ४ अंकसहित समूह ए को अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले सेप्टेम्बर १९ मा ओमानविरुद्ध आफ्नो अन्तिम लिग खेल खेल्नु पर्नेछ । यहाँबाट पाकिस्तान र युएई मध्ये केवल एक टोलीले ४ अंक पुग्न सक्छ । पाकिस्तानले २ लिग खेलहरू मध्ये एक जितेको छ र एउटा हारेको छ । टोलीको २ अंक मात्र छ। यदि टोली युएईसँग हारेमा, युएई टोली ४ अंकसहित सुपर-४ मा पुग्नेछ । युएईले चालू सिजनको पहिलो खेल जितेको छ । जबकि, ओमानले लगातार दोस्रो हार बेहोरेको छ । यस्तो अवस्थामा, पहिलो पटक एसिया कप खेलिरहेको ओमान टोली लगभग बाहिरिसकेको छ । यदि ओमानले भारतविरुद्ध जित हासिल गरे पनि, केवल २ अंक मात्र प्राप्त गर्न सक्नेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।