धादिङ। १० औँ धादिङ महोत्सबमा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट उत्पादनलाई पुरस्कार दिने योजना बनाइएको छ। माघ १५ देखि २५ गतेसम्म धादिङबेसीमा सञ्चालन हुने महोत्सबमा स्थानीय घरेलु उत्पादनको प्रदर्शनी, प्रतियोगिता र बिक्री गरिने आयोजक समितिका संयोजक रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो।
महोत्सबमा हस्तकला, काष्ठकला, ठेकी भाडा, ढाका, गलैंचा लगायतका सामाग्रीको प्रदर्शनी गरिनेछ। प्रदर्शनीमा देखाइएका सामग्रीमध्ये उत्कृष्ट उत्पादनलाई पुरस्कार दिइनेछ। त्यस्तै, जिल्लाका हस्तकला, काष्ठकला तथा साना घरेलु उत्पादन प्रदर्शनी गर्नका लागि महोत्सबमा निशुल्क स्टल उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यसैगरी, महोत्सबमा धादिङ जिल्लाभरका विभिन्न समुदायका सांस्कृतिक झाँकीहरूको प्रदर्शन हुनेछ। तामाङ, मगर, ब्राम्हण, क्षेत्री, चेपाङ, गुरुङ, घले लगायतका समुदायका झाँकी प्रदर्शनीमा प्रस्तुत गरिनेछ भने इतिहास र संस्कृति झल्काउने झाँकी तथा नृत्यसमेत प्रदर्शन गरिनेछ। सहभागि झाँकीहरुमध्ये सबैभन्दा उत्कृष्ट झाँकीलाई पुरस्कार दिइनेछ र यसलाई प्रतियोगिताको रूपमा आयोजना गरिने आयोजक समितिले जानकारी दिएको छ।
महोत्सबले घरेलु उत्पादनको प्रवर्द्धनसँगै धादिङको विविध सांस्कृतिक धरोहरलाई जनसमक्ष प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



