काठमाडौँ । गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन प्रशासनिक सक्रियता बढाएको छ। मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको हो।

निर्वाचन आयोगले जिल्ला स्तरमा आचारसंहिताको पालना सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई ‘आचारसंहिता अनुगमन अधिकृत’ तोकेपछि गृह मन्त्रालयले सोही बमोजिम सक्रिय हुन निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन अवधिमा हुनसक्ने आचारसंहिता उल्लंघनका घटनाहरूलाई रोक्न र सो सम्बन्धमा भएका कार्यहरूको नियमित प्रतिवेदन मन्त्रालयमा उपलब्ध गराउन प्रशासनलाई भनिएको छ।

यसैगरी, निर्वाचन प्रक्रियालाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न गृह सचिवको संयोजकत्वमा ‘केन्द्रीय कमाण्ड पोस्ट’ समेत गठन गरिएको छ। उक्त कमाण्ड पोस्टले देशभरको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिताको कार्यान्वयनको उच्चस्तरीय अनुगमन गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निर्वाचनलाई विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई स्थानीय स्तरमा सूक्ष्म निगरानी राख्न र कुनै पनि गैरकानुनी वा आचारसंहिता विपरीतका गतिविधिमा संलग्नलाई तत्काल कानुनको दायरामा ल्याउन समेत सचेत गराएको छ।

Share.

Comments are closed.

Exit mobile version