धादिङ, २४ माघ।प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा त्यसको सुरक्षा र व्यवस्थापन अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार धादिङ आउनुभएको छ। उच्चस्तरीय सरकारी तथा सुरक्षा टोलीसहित भएको भ्रमणका क्रममा उहाँले निर्वाचनसँग सम्बन्धित कार्यालय र सुरक्षाको तयारीको समीक्षा गर्दै मतदातालाई भयरहित वातावरण सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नुवाकोटबाट धादिङ प्रवेश गरेपछि गृहमन्त्री अर्यालले सबैभन्दा पहिले क्षेत्र नम्बर १ अन्तर्गत गल्छीको महेशदोभानस्थित निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्नुभयो। मतपेटिका ढुवानी, सुरक्षित भण्डारण व्यवस्था तथा मतगणना केन्द्रको संवेदनशीलता सम्बन्धी विषयमा जानकारी लिँदै उहाँले सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभयो।
त्यसपछि सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित बैठकमा प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल भयो। सो अवसरमा गृहमन्त्रीले निर्वाचन अवधिभर शान्ति–सुरक्षा चुस्त राख्न र कानुनी प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्न जोड दिनुभयो।
पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको मुख्य उद्देश्य निर्धारित समयभित्र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो।
“हामी कुनै दलको पक्षमा छैनौँ, जनताको मत सुरक्षित रूपमा प्रयोग हुने वातावरण बनाउनु नै हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार निर्वाचन सम्पन्न भएसँगै विधिको शासन सुदृढ हुने विश्वास सरकारको छ।
निर्वाचन सफल बनाउन राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनबीच समन्वय सुदृढ गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो। मतदातालाई स्वतन्त्र र सुरक्षित रूपमा मतदान गर्न सकिने वातावरण तयार भइसकेको उल्लेख गर्दै उहाँले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो।
भ्रमण टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए। जिल्लाको सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र प्रहरी उपरीक्षक सुमित खड्काले ब्रिफिङ दिएका थिए।
धादिङका १३ स्थानीय तहमा कुल २ लाख ७५ हजार २ सय ८० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ती सबै मतदाताको सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिइएको छ।
