काठमाडौँ, ३ फागुन –नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउँदै छ। महाशिवरात्रिको पावन अवसरलाई सेना दिवसका रूपमा मनाउने परम्परा अनुसार आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। उक्त समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सेनाले शिवरात्रि बढाइँ, आकर्षक परेड, तोप बढाइँ तथा विभिन्न साहसिक सैनिक कला र सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण र गुल्महरूका साथै विदेशस्थित कूटनीतिक नियोग र शान्ति मिसनहरूमा समेत सेना दिवस मनाइँदै गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ।

विगत १८१९ सालदेखि साङ्गठनिक स्वरूपमा सुरु भएको नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि ऐतिहासिक कालखण्डदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। वीर पुर्खाहरूको त्याग र बलिदानबाट स्थापित यो सङ्गठनले आफ्नो अनुशासन, चेन अफ कमान्ड र राजनीति निरपेक्ष चरित्रका कारण आम नागरिकको विश्वास जित्न सफल भएको छ। पछिल्लो समय सेनामा महिलाहरूको सहभागिता पनि वृद्धि हुँदै गएको छ, जसले सङ्गठनलाई अझ समावेशी बनाएको छ। आन्तरिक सुरक्षा र राष्ट्रिय एकता कायम राख्नुका साथै सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग जस्ता पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, ऐतिहासिक गढी तथा सम्पदाको संरक्षण र हिमाल सफाइ जस्ता सामाजिक कार्यहरूमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ।

अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली सेनाले एक भरपर्दो र व्यावसायिक शान्ति सेनाको पहिचान बनाएको छ। सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले हालसम्म ४४ वटा मिसनमा रहेर एक लाख ६२ हजारभन्दा बढी जनशक्ति परिचालन गरिसकेको छ। यस क्रममा ७४ जना नेपाली सैनिकले विश्व शान्तिका लागि आफ्नो ज्यानको आहुति दिइसकेका छन्। हाल विश्वका विभिन्न १० वटा मिसनमा ३९१ महिलासहित चार हजार ३०२ सैनिक कार्यरत छन्, जसले नेपाललाई महिला सैनिक खटाउने देशको अग्रपङ्क्तिमा उभ्याएको छ। नेपालका सैनिक शिक्षालयहरू समेत विदेशी सैनिकका लागि युद्धकला र शान्ति कार्यको तालिम लिने महत्वपूर्ण केन्द्रका रूपमा विकसित भएका छन्। साथै, आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सेनाले एकीकृत सुरक्षा योजना अन्तर्गत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ।

Share.

Comments are closed.

Exit mobile version